0
उमाकान्त पाण्डे/उज्यालो । युएई, पुस २६ - रोजीरोटीका लागि युएईको दुबई आएका एक नेपालीको ज्यान गएको छ । अब युएई कहिल्यै नफर्किने र नेपालमै केही गर्ने भनेर घर फर्किने तयारी गरेका शान्तीपुर-९ गुल्मीका रामबहादुर पुनको सपना धेरै दिन टिकेन । २७ वर्षका पुनको सपना युएई खाडीमा टुट्यो । दुई वर्ष पहिले डेढ लाख रुपैयाँ खर्चेर दुबईको क्वीविजी नामक सप्लाई कम्पनीमा क्लिनरको रुपमा आउनु भएका उहाँ यही पुस महिनाको दोस्रो हप्ता (१५ गते) नेपाल फर्किने तयारीमा हुनुहुन्थ्यो । कम्पनीमा कामगरे अनुसारको दाम नभएको भन्दै उहाँले नेपालमै केही गर्ने भनेर कम्पनीमा राजीनामा पत्र बुझाई सकेको र हवाई टिकट समेत काटेर स्वदेश फर्किने तयारीमा रहेको दुबईमै कार्यरत उहाका भाई भिमबहादुर पुनले बताउनुभयो । तर उहाँले बालुवाको खानी खाडीमा बुनेको सपना धेरैदिन टिक्न सकेन । नेपालमै गएर खेति किसानी गर्ने परिवारसँगै घरजम गर्ने रामबहादुरको पुस ३ मा दुबईको डिआइपी १ मा दुर्घटनामा परी ज्यान गयो । नेपाल जाने भनेर परिवारका सदस्यलाई मिठाइसहित सामान समेत किनेर झोला बाँधी सक्नुभएका रामबहादुरको अन्तिम सास उहाँका सहकर्मीले समेत देख्न पाएनन् । पुस ३ गते शुक्रबार सार्वजनिक विदाको दिन राति १० बजे कम्पनीको मजदुर क्याम्प बाहिर निस्कनुभएका उहाँ अर्को दिन बिहान समेत कोठामा नफर्किएपछि सहकर्मीहले खोजी सुरु गरेका थिए । कम्पनीका सहकर्मी र कम्पनीले समेत खोजी गर्दा कुनै पत्तो नभएपछि प्रशासनमा निवेदन गरिएको थियो । प्रशासनले अघिल्लो राति दुर्घटना भएको र घाइते एक नेपालीलाई अस्पताल पुराएको जानकारी दिएको थियो । त्यही जानकारीका आधारमा कम्पनीका अधिकारी र युएई नेपाली एकता समाजका अध्यक्ष कृष्ण केसी लगायत अल किसेसमा रहेको अस्पतालमा पुग्दा रामबहादुरको ज्यान गई सकेको थियो । उहाँको शवलाई नेपाल पठाउन दूतावाससँगको समन्वयमा सम्पूर्ण कानूनी प्रकृया पूरा गरिएको र शुक्रबार शव नेपाल पठाइएको युएई नेपाली एकता समाजका अध्यक्ष बाग्लुङका कृष्ण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार एकता समाजले पुनको परिवारलाई राहत स्वरुप आर्थिक सकंलन गरिरहेको र अहिलेसम्म २१ सय युएई दिराम्स अर्थात झन्डै ८० हजार नेपाली रुपैयाँ जम्मा गरिसकेको छ । उहाँ कार्यरत कम्पनीले परिवारलाई ३ हजार ८ सय १५ युएई दिराम्स अर्थात झन्डै १ लाख १५ हजार नेपाली रुपैयाँ मात्र उपलब्ध गराएको दुबईमै कार्यरत उहाँका भाई भीम बहादुर पुनले बताउनुभयो ।

Post a Comment

 
Top