हामीलाई यसरी बचाउने चालक को अनुहार पनि देख्न नपाएकोमा भने निकै पश्चाताप भयो । किनकि हामीलार्इ बचाउने भगवान चालक त हेटौडामा नै साट्टी सकेछ्न्
पूजा ढकाल बराल दशैँ र तिहारको छुट्टी सकिएपछि काठमाडौँ फिर्ता आउने क्रममा हामीले बेलबारीमा नाइटको काउन्टरमा गएर टिकट लियौं । ‘गुगल’ नामक गाडीको लागि १२८५ रूपैयाँ पर्ने टिकटलार्इ १५०० तिरेर गन्तब्य तिर जाने निर्णय गरियो । Puja-Dhakal-Baralबेलबारीमा सधैँ चार बजेसम्ममा सबै नाइट बसहरु छुटी सक्थे । तर साँझको छ बजेसम्म पनि बस आएन । बल्ल बल्ल एउटा बस आइपुग्यो । बसको आगाडि पट्टिको भागमा कुनै सिसा थिएन । झ्यालहरुका सिसा पनि आधाजसो थिएनन् । त्यसको सट्टामा बरु कार्टुनले झ्यालहरु टालिएका थिए । मेरो काठमांडुको यात्रा गुगलको ४ नम्बर सिटबाट सुरु भयो । बेलुकीको साढे छ बजिसकेको थियो । बस इटहरीतिर हुइँकिन थाल्यो । मंसिर महिना लागिसकेको हुनाले जाडोले हामीलाई जिस्काउन थालिसकेको थियो । यसमा पनि सिसा नभएको गाडी अनि झ्यालमा पनि कार्टुनको टुक्राले हावालाई थाम्ने प्रयास गर्दै थियो । ७ बजेसम्म हामी इटहरी आइपुगीसकेका थियौं । हाम्रो गाडी बसहरूको लाइनमा गएर टक्क अडियो । त्यहाँ बसको ताँती इटहरी चोकदेखि निकै अगाडिसम्म लागेको थियो । एकछिन पछि सहचालकले धेरै टाढा नजान निर्देशन दियो । बाहिर गाडिका यात्रीहरुको मेला लागेको थियो । हामी पनि त्यहि यात्रीहरुसंगै सारमा सार मिलाउन बाहिर लाग्यौ । वारी पारी सबैतिर होटलहरु थिए । नजिकैको होटलमा गयौं तर होटलमा कुनै पनि इच्छा गरेको समान थिएन । त्यहाँबाट केहि नखाई हामी पुन: गाडीमा नै आयौं अनि घरबाट ल्याएको खानेकुरा खायौं । पट्यारलाग्दो गरी ४ घण्टा बितायौं जब ११ बज्यो तव प्रहरीले स्कर्टिङ गर्ने सूचना दियो अनि प्रहरीको गाडी आगाडि लाग्यो र बिस्तारै बिस्तारै अन्य गाडीहरु पनि गन्तव्यको लागि अगाडी बढ्न थाले । पकली, झुम्का, इनरुवा, लौकही, भन्टाबारी हुँदै हामी कोसीको पुलमा पुग्यौं । निकै डर लागिरहेको थियो । मनमा कुराहरु खेलिरहेका थिए । बिस्तारै कोशी पुल पार गरेर गाडी अगाडि बढ्यो । अगाडी मान्छे कराएको आवाज आयो । हामीभन्दा अगाडिको गाडी रोकियो । हाम्रो गाडी पनि त्यसको पछाडि रोकियो । करिब २ किलोमिटर अगाडिबाट बन्दुक पड्केको आवाज आयो हामी निकै डरायौं । बसभित्रका केटा मान्छेहरु हामीलाई सम्झाई रहेका थिए । बच्चाहरु र छोरी मान्छेहरु निकै त्रसित थिए ।एकैछिन पछि प्रहरीको गाडी हामी नजिकै आयो अनि अगाडि बढ्न अनुरोध गर्यो । हाम्रो गाडि निकै रफ्तारमा अगाडि बढ्यो । भारदहबाट राजविराज जाने बाटोको साइटतिर आन्दोलनकारी लुकेका रहेछन् । प्रहरीहरु निकै जना थिए त्यहाँ । आन्दोलनकारी टायर जलाएर बसीरहेका थिए । प्रहरीले हामीलाई पहरा दिइरहेका थिए । भारदहबाट केहि अगाडि बढेपछि एक्कासी हाम्रो गाडीमा ढुंगा प्रहर भयो । मभन्दा अगाडि बाँकी रहेको झ्यालको सिसा झर्याम झुरूम पनि ढुंगा लागेर फुट्यो । गाडी भित्र रुवाबासी सुरु भयो । सबैजना गाडिको प्यासेजमा लम्पसार परे । चालकलाई के भयो या भएन हामीलाई केहि थाहा भएन तर हाम्रो गाडी भने कुदिरहेको थियो । गाडि भित्र रूवाबासी थियो । गाडी भित्र भगवानको नाम मात्र सुनिन्थ्यो । ‘हरे राम, हरे कृष्ण…।’ करिब ५ मिनेट पछि हामी कंचनपुरको प्रहरी चौकी अगाडि आइपुग्यौं । हामी चढेको गाडी रोकियो । प्रहरीहरु गाडी भित्र पसे । मेरोभन्दा अगाडि बस्ने एकजना महिला सिसाले काटेर बेहोस भैछिन् । अन्य सबै सकुसल नै थिए । हामीभन्दा पछाडि सयौं गाडीहरु आउँदै थिए तर कंचनपुरमा हामी रोकिँदा अरू कुनै पनि गाडी पछाडि देखिएनन् । करीब आधा घण्टासम्म कुनै पनि गाडीहरु आएनन् । मेरो मनमा चिसो पस्यो । गाडी र निर्दोष यात्रुहरू अान्दोलनकारीको निसानामा त परेनन् ?! एकछिनपछि गाइगुइँ चल्यो । ‘सबै गाडीहरू जलाए जस्तो छ…।’ बिस्तारै हाम्रो गाडी त्यहाँबाट पनि अगाडि बढ्यो । हाम्रो बसको पछाडि-पछाडि अाइरहेका अरू गाडीहरू सकुशल होलान् कि नहोलान् भनेर मनका कुरा खेलिरह्यो । करीब २० किलोमिटर अगाडि आएपछि पनि ढुंगा हानाहान भैरहेको थियो । तर प्रहरी दाजु भाइहरुले जसोतसो बचाएर बस र तिनका यात्रुहरूलाई अगाडि बढाइरहे । करिब तीन घण्टाको जीबन-मरणको अवस्था पछि हामी महोत्तरीको बर्दिबास आइपुग्यौं । सबै जना यात्रुको आग्रहमा चालक गाडीलार्इ सिन्धुली तर्फबाट जान सहमत भएका थिए । तर केहि जानकारहरुले सिन्धुलीको बाटो साँघुरो भएकाले झन् समस्या हुन् सक्छ भनेपछि फेरि महेन्द्र राजमार्गबाट करीब ३ बजे तिर गाडी हुइँकियो । ३ घण्टाको कठिन यात्रा पछि बल्ल हामी पथलैयाबाट उत्तर तिर लाग्यौं । त्यसबेला युद्ध जितेर आएका फौजी जस्तै भएका थियौं । हेटौडा पुग्दा उज्यालो भैसकेको थियो बसपार्क नजिकै गाडी रोकियो । सबैजना चिया खान लाग्यौं । एकैछिन पछि गाडी फेरि गन्तब्य तर्फ लाग्न थाल्यो । अनि हामी करिब १ बजे तिर कलंकीमा झर्यौ । मलाई बचेर आएको निकै खुसी लागेको थियो । तर हामीलाई यसरी बचाउने चालक को अनुहार पनि देख्न नपाएकोमा भने निकै पश्चाताप भयो । किनकि हामीलार्इ बचाउने भगवान चालक त हेटौडामा नै साट्टी सकेछ्न् । कोठामा आएर टिभी हेर्दा पो थाहा भयो भारदहमा निकै ठूलो घटना भएछ । अहिले पनि म राम्रोसंग बोल्न खान र हिँड्न सकिरहेकी छैन । मेरा पछि आइरहेका गाडीहरु र त्यसमा सबार यात्रुहरुको यादले सताइरहेको छ । मेरो बिनम्र अनुरोध छ आन्दोलनकारीहरु यसरी जंगली शैलीमा यात्रुलार्इ आक्रमण गर्नुभन्दा आफ्ना माग बार्ताबाट नै मिलाउ । अनि सरकारमा रहेका र अन्य दलका नेताहरु बसेर समस्या समाधानको बाटो छिटो पहिल्याउ ।
Post a Comment