0
सुर्खेत : दस वर्षीया एक बालिकालाई सामुहिक बलात्कारपछि हत्या गरिएको रहस्य खुलेको छ । गत कातिक ३० गते पूर्वी सुर्खेतस्थित नेटा–७ को पहिरो खोलामा मृत अवस्थामा फेला परेकी बालिकाको बलात्कारपछि हत्या भएको रहस्य खुलेको हो । घटनाको अनुसन्धानपछि सुर्खेत प्रहरीले उक्त घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार तीन जना युवाले सामुहिक रुपमा बलात्कार गरी बालिकालाई ढुंगाले थिचेर हत्या गरेका हुन् । नेटा गाविस–७ कल्लेरीका ३२ वर्षीय खडकबहादुर गाहामगर, नेटा–५ का ३८ वर्षीय यामबहादुर रास्कोटी मगर र कल्याण–१ का पूर्णबहादुर ठाडामगरलाई सो घटनामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । अभियुक्त तीनैजनाले बालिकालाई सामूहिक बलात्कारपछि ढुंगाले किचेर हत्या गरेको स्वीकार गरिसकेका छन् । हत्या गरिएकी बालिका गत कातिक ३० गते विहान ८ बजे सामान लिन भन्दै नेटा बजारका लागि घरबाट हिँडेकी थिइन् । पैदल यात्रामा एक घण्टा लाग्ने नेटा बजार गएर दिउँसो २ बजेसम्म पनि छोरी घर नफर्किएपछि घरपरिवारले खोजी सुरु गरे । सोही दिन राति ९ बजे घरदेखि करिब २ किलोमिटर पूर्वमा पर्ने नेटा–७ स्थित पहिरो खोलामा उनको शव फेला परेको थियो । शव फेला परेपछि उनको हत्या भएको हुनसक्ने भन्दै आफन्तले इलाका प्रहरी कार्यालय छिन्चुमा खबर गरेका थिए । घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय छिन्चुले प्रहरी नायव निरीक्षक निर्मलकुमार खत्रीको नेतृत्वमा टोली परिचान गरी अनुसन्धान थालेको थियो । तीन दिनको अनुसन्धानपछि प्रहरीले तीनै जना अभियुक्तहरुलाई पक्राउ गर्न सफल भयो । पूर्णबहादुर ठाडालाई घरैमा लुकिबसेको अवस्थामा पक्राउ गरिएको हो भने गाहा र रास्कोटीलाई नेटा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कायालय सुर्खेतका प्रमुख एसपी वीरेन्द्र श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार पूर्णबहादुर सीमाका भिनाजु हुन् भने खड्कबहादुर भगौडा प्रहरी हुन् । सशस्त्र प्रहरीबाट भागेका उनी यसअघि पनि गाउँमा गलत क्रियाकलापमा संलग्न हुने गरेको प्रहरीले जनाएको छ । अभियुक्तहरुले प्रहरीसमक्ष दिएको बयान अनुसार बाटो हिँडिरहेका तीनजनाले जंगलबीचमा एक्ली बालिका देखेपछि एक्कासी आक्रमण गरेका थिए । बालिकालाई जवरजस्ती बाटोबाट करिब १ सय ५० फिट तल जंगल भएको खोल्सामा लगेर पालैपालो बलात्कार गरेको अभियुक्तहरुले स्वीकारेका छन् । बलात्कारपछि ढुंगाले मुख र टाउकोमा थिचेर हत्या गरिएको हो । एसपी श्रेष्ठका अनुसार पक्राउ परेका तीनैजनालाई जवरजस्ती करणी गरी कर्तव्य ज्यान शीर्षकमा मंसिर ४ गते सुर्खेत जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो । मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम सर्वस्वसहितको जन्मकैद र १० वर्षकी नाबालिकालाई सामूहिक करणी गरेकोमा मुलुकी ऐन जबरजस्ती करणी महलको ३ (२) बमोजिम ८ देखि १२ वर्ष कैद र सोही महलको ३ (क) अनुसार सामूहिकरुपमा करणी गर्नेलाई थप ५ वर्ष कैद सजाय हुने कानुनी प्रावधान रहेको एसपी श्रेष्ठले जानकारी दिए ।

Post a Comment

 
Top