0
काठमाडौँः मंसिर २० गते उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक स्थित समितिभेज अस्पतालमा पुगेका पति वर्षमान पुन ‘अनन्त’लाई देख्नासाथ सभामुख ओनसरी घर्ती मगर भावुक बनेकी छिन् । एकीकृत माओवादीका सचिव पुनको पछिल्लो स्वास्थ्य अवस्था बुझ्न एमाओवादी अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र उनकी पत्नी सीतासँगै समितिभेज अस्पताल पुगेकी सभामुख भावुक भएकी हुन् । सभामुख घर्तीले पति पुनलाई भेट गर्दै गर्दा खिचिएका तस्बिरमा सभामुख घर्ती भावुक मुद्रामा प्रस्तुत भएकी छिन् । एक महिना अघिदेखि थाइल्याण्डमा उपचार गराइरहेका पुन दुब्लाएको देखिएका छन् । भदौ २८ गते साँझ खाना खाएपछि स्वास्थ्यमा अचानक समस्या देखिएपछि पहिलोपटक पुन ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका थिए । सामान्य उपचार गराएर घर फर्किएका पुनको स्वास्थ्यमा सन्तोषजनक सुधार हुन नसकेपछि पुनलाई कात्तिक २५ गते भारत लगिएको थियो । Barsaman pun1 भारतको नयाँदिल्लीस्थित मेदान्त सिटी अस्पतालमा उपचार गराएर पुन मंसिर ७ गते नेपाल फर्किएका थिए । दिल्लीमा उपचार गरेर स्वदेश फर्किएको केही दिनमै स्वास्थ्यमा पुनः समस्या भएपछि पुनलाई मंसिर २० गते थाइल्यान्ड लगिएको हो । थाइल्याण्ड लगिएको एक महिनासम्म समेत अस्पतालले डिस्चार्ज नगरेपछि पुनको स्वास्थ्य अवस्था बुझ्न बुधबार सभामुखका साथमा प्रचण्ड र सीता थाइल्याण्ड गएका हुन् । नेता पुनलाई वंशाणुगत जन्डिस भएको बताइएको छ । पुनलाई कमलपित्त र कलेजो सुन्निने समस्याले लामो समयदेखि सताइरहेको छ । थाइल्याण्डमा उपचारका क्रममा सुधार भइरहेको सार्वजनिक गरिए पनि पुनको स्वास्थ्यमा उत्साहजनक सुधार आउन सकेको छैन ।

Post a Comment

 
Top