पौने दुइ करोडको भैँसी !
भारतको हरियाणामा एउटा भनाइ प्रचलित छः जसको घरमा काली उसलाई सधै दिवाली । यहाँ काली भन्नुको अर्थ कुनै काली वर्णकी युवती अर्थात् कालीनाग वा कालो कुकुर होइन । काली भनेको कालो वर्णको भैँसी अर्थात् मुर्रा भैँसी पो हो । एउटै मुर्रा भैँसी पालेको परिवार पनि मालामाल हुन्छ अर्थात् धनी हुन्छ । त्यसैले भैँसीलाई कालो सुन पनि भनिन्छ । नभनियोस् पनि किन ? एउटै भैँसीको मूल्य झण्डै पौने दुइ करोड सम्म पर्छ । हरियाणास्थित भिवानीस्थित गुजरानी गाउँमा एक किसानले पालेको भैँसीको मूल्य ५६ लाख भारु अर्थात् झण्डै पौने दुइ करोड तय गरिएको छ । हालै आयोजित राष्ट्रिय दुध प्रतियोगितामा २९ किलो ५ सय ग्राम दुध दिएर राष्ट्रिय किर्तिमान राख्न सफल उक्त भैँसीको मूल्य अहिलेसम्मकै उच्च कायम भएको हो । यो भैँसीका मालिकको नाम हो रामफल । रामफलले आफ्नो यो कालो सुनरुपी भैँसीको नाम देवी राखेका छन् । रामफलका अनुसार देवीले अघिल्लो वर्ष २६ किलो ३ सय ग्राम दुध दिएर बनाएको आफ्नै रेकर्ड यो वर्ष २९ किलो ४८३ ग्राम दुध दिएर तोडेको छ । गतवर्ष रामफललाई हरियाणाका मुख्यमन्त्रीले किर्तिमानी भैँसी पालेबापत ५१ हजार भारु पुरस्कार दिएका थिए । आफ्नो भैँसीको भाउ गत वर्ष ५६ लाख भारु तोकिएकोमा अहिले त एकजना मानिसले आफ्नो भैँसीबापत एक लग्जरी कार दिन तयार भएको बताए । दुध प्रतियोगितामा २७ किलो ५ सय ग्राम दुध दिएको रामफलका भाइ धर्मवीरले पालेको भैँसी दोश्रो स्थानमा परेको छ भने तेश्रो स्थानमा २१ किलो दुध दिने भैँसी परेको छ ।
Post a Comment