0
धरान : घरबाट निकालिएकी एक महिलाले धरानको सडकमै छोरो जन्माएकी छिन् । सोमवार बिहान सुनसरीको सोनापुर गाविस घर बताउने समिरा देवीले सडकमै छोरो जन्माएकी हुन् । गर्भवती अवस्थामा घरबाट निकालिएपछि मानसिकरुपमा विक्षिप्त समिराले वडा प्रहरी कार्यालय अगाडिको सडकमै छोरा जन्माएपछि हेर्नेको भींड लागेको थियो । सडकमा छोरो जन्माएर अलपत्र रहेकी उनको स्थानीय महिला र इलाका प्रहरी कार्यालय धरानको टोलीले उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरिएको छ । सडकमा अलपत्र समिरालाई स्थानीय महिलाहरुले लुगा फेरिदिएर उपचारका लागि प्रतिष्ठान भर्ना गरिएको उद्धारमा संलग्न धरान–६ की सीता कार्कीले बताइन् । पीडित समिराले श्रीमान र घरका अन्य सदस्यले गर्भवती भएको अवस्थामा हेला गरेपछि घर छाडेर हिडेको बताएकी छिन् । एकाविहानै सडक सफा गर्दै आएकी धरान उपमहानगरपालीकाकी सफाइ मजदुर अनिता मरिकले सडकमा सुत्केरी भएर नवजात शिशुसहित महिला छट्पटाइरहेको देखेपछि अन्य महिलालाई बोलाएर समिराको उद्धार गरिएको बताइन् । सुत्केरी व्यथा लागेर समिरा बेहोस बनेको अबस्थामा नवजात शिशुलाई सडकमा फोला पारेको मरिकले बताइन् । ‘सडक सफाइ गरिरहँदा नवजात शिशु देखेपछि तर्सिएँ’, मरिकले भनिन्, ‘त्यसपछि स्थानीय वासिन्दासँग कपडा मागेर शिशुलाई कपडाले बेरेर न्यानो बनाए । समिरा सुत्केरी हुने वित्तिकै स्थानीयवासिन्दाको सहयोगमा शिशुको ज्यान बचाउन सकियो ।’ महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला गर्भवती महिलालाई घरबाट निकालिएपछि महिलाअधिकारकर्मीहरुको समेत ध्यानाकर्षण भएको छ । महिला दबाब समुह धरानकी अध्यक्ष शिला बर्जाचार्यले गर्भवती महिलालाई घर निकाला गर्नेलाई कडा कारबाही माग गरेकी छिन् । मानसिकरुपमा विक्षिप्त समिरा बोल्न सक्ने अवस्थामा नरहेको चिकित्सकहरुले बताएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतीले स्थानीयबासिन्दा र प्रहरीले समिरालाई उपचारका लागि अस्पताल भर्ना गरिएका जनाउँदै घटनाको अनुसन्धान सुरु गरिएको बताए । उनले समिराका आफन्तको खोजी नवजात शिशुसहित परिवारलाई जिम्मा लगाइ थप कारबाही अगाडि बढाउने बताए ।

Post a Comment

 
Top