कर्फ्यू तोड्दै मधेसी मोर्चाको प्रदर्शन, झडप जारी ..
राजविराज : शनिबार राति सप्तरीका दुई स्थानमा प्रहरीसँगको झडपमा दुईजना मारिएपछि जिल्ला प्रशासन कार्यालयले भारदह, रुपनी र राजविराजको केही भागमा कफ्र्यु आदेश जारी गरेको छ । भारदह गाविसको पूर्वमाकंकालिनी मन्दिरदेखि पाँच सय मिटर पूर्व, पश्चिममा महुली पुलसम्म,उत्तरमा पोर्ताहा गाविस भवनदेखि पाँच सय मिटरसम्मको क्षेत्र र दक्षिणमा सकरदही नहरको कल्भर्टसम्म कफ्र्यु आदेश जारी भएको छ । रुपनीमा राजमार्ग खण्डको रुपनी चोकदेखि उत्तर दक्षिण पाँच सय मिटर दायाँ–बायाँको क्षेत्र, पूर्वमा जगमोहन चोकसम्म तथा पश्चिममा शम्भुनाथ चोकसम्म कफ्र्यू आदेश जारी भएको छ । सदरमुकाम राजविराजको नगर प्रहरी कार्यालयसँगैको राधाकृष्ण मन्दिरदेखि जिल्ला प्रशासन कार्यालयको सडक खण्ड र सगरमाथा अञ्चल प्रहरी कार्र्यालय जाने बाटोको चोकसम्म स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै राजविराजको केही भागमा पनि कफ्र्यु लगाइएको प्रजिअ ठाकुरले जनाए । यता आक्रोशित प्रदर्शनकारीहरुले राजविराजको विभिन्न चोक, भारदह, पोर्ताहा, मधवापुर, बरमझिया, कञ्चनरुप, रुपनी, शम्भुनाथ, कल्याणपुर, विसनपुर, कदमाहा चोकमा टायर बाली विरोध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारी र प्रहरीबीच दिनभरी झडप भइरहेको छ । झडपका क्रममा प्रदर्शनकारीहरुलाई तितरवितर बनाउन प्रहरीले बेला बेलामा अश्रु ग्यास र हवाइ फायर गरिरहेको छ । प्रदर्शनकारीहरुले मोटरसाइकल जलाए आइतबार विहान परीक्षाका लागि बहिनी लिएर गाइघाटबाट राजविराज आइरहेका आइरहेका देवराज पौडेलले चलाएको स.४प ५३११ नम्बरको मोटरसाइकल प्रदर्शनकारीहरुले रुपनीमा जलाएका छन् । यसक्रममा आइतबार विहान रुपनीमा भएको झडपमा मलेठ-४ का ५० वर्षीय भोगीलाल यादवको नाक र आँखामा, बसबिट्टी ९ का ३५ वर्षीय ज्ञानदेव यादवको बायाँ हात, राजविराज–१ का ६६ वर्षीय कपलेश्वर प्रसाद साहको छाती र पिठ्युमा लाठीले चोट लागेको छ ।
Post a Comment