0
वीरगन्ज : वीरगन्जमा सिके राउतका कार्यकर्ताले गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले कार्यक्रममा हस्तक्षेप गरी सिके राउतका एक कार्यकर्तालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिके राउतको नेतृत्वमा गठित स्वतन्त्र मधेस गठबन्धनका बारा पर्सा संयोजक राजेश यादव रहेका छन् । वीरगन्जको माइस्थानमा अवस्थित गहवामाई मन्दिरका अगाडि बिहीबार बिहान गठबन्धनले आयोजना गरेको कोणसभाबाटै प्रहरीले यादवलाइ पक्रेको हो । कोणसभामा यादवका साथै सन्जय साह, सन्जय कलवार र शेषनाथ यादवसहित चार जना युवाहरु सिके राउत लेखिएको टोपी लगाएर सहभागी थिए । उनीहरुले सिके राउतको तस्बिर र झण्डा अंकित ब्यानर पनि बोकेका थिए । कोणसभास्थलमा प्रहरी पुगेलगत्तै अरु तीन जना भाग्न सफल भएपनि संयोजक यादवलाई भने पक्राउ गर्न सफल भएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए । प्रहरीले सिके राउतको ब्यानर च्यातेर फालिदिएको प्रत्यक्षदर्शी एक पसलेले बताए । प्रहरीले हस्तक्षेप गरेपछि कार्यक्रम बिथोलिएको थियो । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

Post a Comment

 
Top