

काठमाडौँः अगाडि पछाडि प्रहरी र झण्डै तीसपैँतिस ओटा मोटर साइकलको स्कर्टिङमा एयरपोर्टबाहिर निस्कनै आँटेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई युवा संघका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । महतो विमानस्थलबाट निस्किने बित्तिकै ‘राष्ट्र विखण्डनकारी मुर्दावाद’, ‘विदेशी दलाल होसियार, देश टुक्राउन पाइँदैन’ जस्ता नारा लगाइएको थियो । भारतबाट उपचार गराएर फर्किएका महतोलाई कार्यकर्ताले स्वागत गर्नुभन्दा पहिले युवा संघका नेता कार्यकर्ताले कालो झण्डा देखाइ विरोध गरेका हुन् । तराईमा शान्तिपूर्वक ढङ्गले कार्यक्रम गर्न नदिएको र नागरिकलाई संविधानका अन्तरवस्तु बारे जानकारी गराउन नदिएको भन्दै युवा संघका कार्यकर्ताले नाराबाजी गर्दै कालो झण्डा देखाएको युवा संघका महासचिव किरण पौडेलले बताए । ‘काठमाडौँमा हामीले उनीहरुको कार्यक्रम कहिल्यै अवरोध गरेनौँ । तर हामीलाई शान्तिपूर्वक कार्यक्रम गर्दा पनि अवरोध गरियो ।’ महासचिव पौडेलले भने, ‘उनीहरुको यस्तो हर्कत दोहोरिए तराई मधेसमा समेत उनीहरुले पनि शान्तिपूर्वक कार्यक्रम गर्न पाउँदैनन् ।’ विरोध पश्चात् कार्यक्रम कोणसभामा परिणत भएको थियो । मधेसको माग पूरा नभएसम्म काठमाडौं नफर्किने अडान लिएका महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट गर्ने छन् । महतो र ओलीबीच साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने कार्यक्रम तय भएको बताइएको छ । आजै दिउँसोदेखि प्रमुख तीन दल र मधेसी मोर्चा बीच सहमतिको बैठक थालिएपछि महतो नेपाल आएका हुन् ।
Post a Comment